आजभन्दा करिब बाह्र वर्ष अगाडि घाँसको ठूलो भारी बोकेर घरतर्फ आउँदै गरेकी मेरी आमालाई मैले प्रश्न गरेको थिएँ, ‘आमा, ठूलो भएपछि छोरी के भएको देख्न चाहनुहुन्छ?’
आमाले लामो सुस्केरा मार्दै भनेका ती शब्दहरू आजको दिनसम्म पनि मेरो कानमा गुन्जिरहेका छन्, ‘छोरी, जिन्दगीमा सफल मान्छे बन्नू, हाम्रो जस्तो खोटो कर्म नहोस्। जिन्दगीमा आत्मसन्तुष्टि भन्ने कुराले निकै महत्त्व राख्दछ। त्यसैले मन सन्तुष्ट हुने गरी काम गर्नू है।’
यी शब्दहरूले मलाई आजको दिनसम्म पोल्ने गर्दछ। नेपालमै बसेर भविष्य बनाउँछु भन्ने दृढ संकल्प बोकेकी म आज त्यस गन्तव्यबाट बहकिँदै छु।
मेरो प्यारो देशलाई शृंगार्छु भनी सानैदेखि मैले देखेको सपना आज धमिलो हुँदै गइरहेको छ। यहीँ केही गर्छु भनी कक्षा पाँचदेखि वकिल बन्ने लक्ष्य मैले साकार त गरेँ तर आमाले भनेजस्तै आत्मसन्तुष्टि भने प्राप्त गर्न सकेको छैन। आजभन्दा केही वर्ष अघिसम्म पनि विदेशिने लर्कोले नेपाललाई छोपिसकेको थिएन तर खै समयको माग भनौँ या देशको खस्किँदो अवस्था, परदेशिन कर नै लाग्दो रहेछ।
कोरोनाको प्रकोपले विश्वभर पारेको असरपश्चात् तीव्र गतिले बढेको आर्थिक मन्दीका कारण देश पूरै बिरामी पर्न थालेको अवस्था छ। नयाँ व्यवसायहरू ठप्प हुन थालेका छन्, विद्यालयको फी बढेको बढ्यै छ, किसानले उचित बजार पाएका छैनन्, बैकंको ॠण चर्को दरले आकाशिन थालेको छ। जनतालाई झिनो आश थियो आफ्नो अभिभावक सरकारप्रति तर खै आशा आशैमा सीमित हुन पुगेको छ। सरकारलाई सजग बनाउन मर्कामा परेकाले झकझकाउन त थालेका छन् तर सरकार भने कानमा तेल हालेरै बसिरहेको अवस्था छ।
दैनिक करिब दुई हजार नेपाली युवाहरू देश छोडी विदेशी मुलुकहरूमा पलायन भइरहेका छन्। आर्थिक वर्ष २०२२-२३ मा सात लाख ५० हजारभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा गएको अनुमान छ, जुन आफैंमा एउटा निराशाजनक कीर्तिमान हो। कोही उज्जवल भविष्यको सपना बोकी विकसित मुलुक जाँदै त कोही ॠणको भार मेटाउन खाडीतर्फ लम्किरहेका छन्।
देशैमा बसेर आफू बन्छु र देशलाई पनि बनाउँछु भन्नेहरूको पनि विस्तारै मन कुँडिन थालेको छ। किनभने सम्बन्ध र पैसाले धानेको यस देशको ढुकढुकीमा उज्जवल भविष्यको ध्वनी गुन्जाउन गाह्रो परेको छ। नातावाद र कृपावादले ग्रस्त देशमा जीवन धान्नै हम्मेहम्मे पर्ने अवस्था आइसकेको छ। नेपालमै बस्छु भन्ने भिडको एक पात्र म पनि हुँ तर अब विदेशिने भिड देख्दा, त्यही भिडमा मिसिन मन लागेको छ।
सायद म पछाडि पर्छु कि भन्ने डरले पो हो वा नेपाल बसेँ भनी भविष्य बनाउन जटिल नै छ भन्ने सोचले, नेपालबाट केही समयलाई भए पनि बाहिर जाने जस्ता कुराहरूले मन भतभत पोल्न थालेको छ। घरकाले प्रत्येक दिन ‘सँगैको साथी अस्ट्रेलिया, अमेरिका पुगिसके तेरो खै के हुने हो’ भनी तेर्साएको प्रश्नले मलाई तर्साउने गर्दछ।
नेपालमा गर्न नखोजेको पनि हैन। जताततै राजनीति, भ्रष्टाचार, सानो कामको लागि पनि सरकारी निकायमा लामो समय धाउन पर्ने अवस्थाले पनि होला नेपाली युवाको मन परिवर्तन हुन थालेको। सरकारी निकाय, अड्डाअदालतलाई हेरौं घण्टौंसम्म लाइन बसेर निराश भई फर्कन पर्ने थुप्रै कथाहरू यहाँ लुकेका छन्। व्यवसाय सुरु गर्यो साहुको ॠणको भारले गर्दा आत्मदाह गर्दै सरकारको ध्यानकर्षण गर्दा समेत यो देशको सरकार मौन छ।
परिवार पाल्न खाडी भासिन बाध्य छन् नेपाली महिलाहरू। खाडी राष्ट्रहरूमा घरेलु हिंसाको शिकार भएका ती चेलीहरूको चित्कार प्रत्येक नेपालीको कानमा गुन्जिने गरेको छ। ॠणको भार थाप्लोबाट मेटाउन खाडीको तातो घाममा घोटिएका कति नेपालीले अकालमा ज्यान गुमाउन परेको छ तर ती अवोधहरूको त्यस बिरानो ठाउँबाट लाश घर फर्काउने समेत कोही अभिभावक नभएको अवस्था छ। पटकपटक नेपाली युवाहरूले सुतेको सरकारलाई झकझकाउने अथक प्रयास गरेता पनि सरकारको संवेदना शून्य छ।
विश्वविद्यालयहरूमा हुने अनैतिक राजनीतिक गतिविधिका कारण विद्यार्थीहरूको नेपालमा अध्ययन गर्ने रुची घट्दै गइरहेको छ। त्रिवि विश्वविद्यालयमा विद्यार्थीको भर्ना कम हुँदै गएको तथ्य समाचारहरूमा देख्न सकिन्छ। अझ भनौं माध्यमिक तहदेखि नै वर्तमान अवस्थामा विदेशी मलुकहरूमा जान हौस्याउने गरिन्छ। विश्वभर सम्मानका साथ हेरिने पेसा हो ‘नर्स’। चाहे अस्ट्रेलिया होस् वा अमेरिका, नर्सको भूमिकालाई निकै नै मान दिने गरिएको छ। तर हाम्रो देशमा भने उचित मूल्याङ्कन हुन सकेको छैन। लाखौं खर्च गरेर पढ्यो न काम पाइन्छ, न त उचित तलब। त्यसैले त होला अधिकतम नर्सहरू काम र दामको आशाले परदेशिएका छन्।
देशमा इच्छाअनुसारको रोजगारी गर्न पाउने नीति नियम त बन्यो तर रोजगारी दिने माध्यम भएन। खेतीकिसानी गर्ने किसानहरूले उचित बजार तथा उत्पादनको पारिश्रमिक नपाएकै कारण सरकारसम्म आवाज पुर्याउन माइतीघ आउन पर्ने अवस्था छ। अब त झन् सरकारले माइतीघरमा आन्दोलन गर्न नमिल्ने नियम लागु गरिसकेको छ। कठै ती कृषकहरू सान्त्वना त पाउँछन् तर अझै आफ्नो पारिश्रमिक पाउने आशामा दिन काटिरहेका छन्। सर्लाहीबाट काठमाडौं आएका उखु किसानले बक्यौता चुक्ता गर्न भएको पाँचबुँदे सहमति सरकार र चिनी मिल संचालकले पालना नगरेको भन्दै सडकमा उत्रिएका घटना ताजै छ। आखिर कहिलेसम्म जनता उखु पेलिए सरह पेलिँदै जाने?
कोही करले त कोही रहरले यस ठाउँलाई छोडी बासस्थान परिवर्तन गरिरहनेछन्। सरकारी जागिरलाई नेपाली समाजले उच्च दर्जामा राखेको रोजगारीको पाटो हो। लोक सेवामार्फत कडा मेहनत गरेर मात्र फड्को मार्न सक्ने हुँदा परीक्षार्थीहरू ध्यान एकाग्र गरी पढ्ने गरेको पाइन्छ। अमृत समान मानिने लोक सेवाको जागिर अथक परिश्रमपश्चात पाउने मोह छोडी नेपालीहरू विदेशिएका छन्। मेरो भिनाजु जो राष्ट्रिय अनुसन्धान विभागमा कार्यरहत हुनुहुन्थ्यो उहाँले उक्त जागिर छोडी छोरीको भविष्य बनाउन ३७ वर्षको उमेरमा देश छोड्नु भयो।
आखिर पीरको भार बिसाउनु नै त रहेछ यो छोटो जिन्दगीमा, कहाँ गएर रोकिन्छ टुङ्गो नहुने तर जीवन सरल नै कटोस् भन्ने चाहनाले होला अब अत्ति भो परदेशिनेको भिडमा मिसिने जमर्को मैले पनि गरेको छु। जबसम्म यहाँको जटिलताको समाधान हुँदैन तबसम्म युवाहरू भविष्यकै पीरले विदेशीने छन्। रोजाइभन्दा पनि अब त बाध्यता बन्न थालिसक्यो। देशमा रेमिटेन्स भित्रिरहेको मात्र देख्ने सरकारले युवाहरू तड्पिएको देख्न सकेको छैन। जबसम्म यस देशको बेथिति र बिसङ्गती न्यूनीकरण हुँदैन तबसम्म भविष्य अन्धकारमै रहन्छ।
युवाहरू विदेशिने क्रम जारी रहिरहने छ। देशका युवाहरू सरकारको रवैयाप्रति यति नकारात्मक भइसकेको अवस्था छ कि अरुको विचारलाई पनि हामीले सहजताका साथै क्रुर टिप्पणी दिन आगाडि सर्छौं। यसको ताजा उदाहरण हो पूर्व मिस नेपाल श्रृंखला खतिवडाले देश मै अवसर छ भनी दिएको अन्तर्वार्ता चौतर्फी आलोचना। सोही कुरालाई साकारात्मक रुपमा पनि लिन सकिन्थ्यो तर अवस्था त्यस्तो छैन।
आखिर कहाँ जाँदै छ त हाम्रो देश? उज्ज्वल भविष्य यहीँ बनाउने परिकल्पना गरेकी म हार मान्ने स्थिति सृजना भएको छ। परदेशिनेको भिडबाट फर्किने युवाहरूले गरेको प्रगतिले घरीघरी देशमा बस्ने झिनो आशालाई जगाउँछ। परदेशी जीवनलाई त्यागी नेपालमै गाई पालन गरी जीवन उकासेको कथा, ड्रयागन खेती फस्टाएको मन लोभ्याउने कथाहरू यहाँ भेटिन्छन्। तर यस्ता सफलताको कथाहरू औँलाको गिन्तीमा मात्र भेटिन्छ।
यहाँ केही गर्छु भन्दाभन्दै निराशा बाहेक अरु केही उपलब्धि नभएको कारण युवाहरू विदेशिन बाध्य भइरहेका छन्। खोक्रो राष्ट्रवादको नाराको माला उतारी सुतेको सरकारलाई गहिरो निद्राबाट नजगाएसम्म विदेशीने भिडमा कमि आउने छैन् र भावी पुस्ताको भविष्य समेत अन्धकारमा धकेलिँदै गइरहेको छ। सरकारले जनताको विश्वास जित्न आवश्यक कदम चाल्नु र युवाहरूमा सकारात्मक सोचको विकास गर्न अत्यन्त जरुरी रहेको छ।
मनिषा अधिकारी
सेतोपाटी म पनि विदेशिनु पर्ला! :: मनिषा अधिकारी :: Setopati बाट साभार गरिएको